logo-image

सोमबार, २८ वैशाख २०८३

८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश

सोमबार, २८ वैशाख २०८३ · राजनीति

८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश

काठमाडौं, वैशाख २८ ।  सरकारले जारी गरेका ८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश गरिएका छन् । 

सभाको सोमवारको बैठकमा मन्त्रीहरुले अध्यादेश पेश गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, पेश गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेश गर्नुभयो ।

 त्यसैगरी कानूनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३, गरी तीन वटा प्रतिस्थापन विधेयक सभामा पेश गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेश गर्नुभयो । सरकारले यसअघि आह्वान गरिसकेको संसद अधिवेशन  स्थगित गरेर अध्यादेश ल्याएको थियो । बैठकमा विपक्षी दलका नेताहरुले सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।