बिहिबार, १९ कात्तिक २०८३
बिहिबार, १९ कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ। हाल काठमाडौँ बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई ब्युरोले फोन सम्पर्कमार्फत बोलाएको हो।
साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काको उजुरीका आधारमा उनलाई बोलाइएको हो। सहमहामन्त्री शिवाकोटीले केही दिनयता सामाजिक सञ्जालमार्फत सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै प्रतिक्रिया दिँदै आएका थिए। उनले बिचौलिया भनिएका र प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो रेकर्ड तथा पत्रकार खड्काका विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।
ब्युरोबाट फोन आएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सहमहामन्त्री शिवाकोटीले सरकारले तर्साएर सत्ता चलाउन खोजेको आरोप लगाएका छन्। उनले आफू काठमाडौँ बाहिर रहेको र प्रहरी लगाएर खोज्न नपर्ने बताउँदै आफू काठमाडौँ फर्कदै गरेको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै उनले लेखेका छन्,
“सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।”
सरकारले प्रतिपक्षले उठाएका जिम्मेवार प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
एक घण्टा अगाडि