बुधबार, २८ असोज २०८३
सोमबार, ११ फागुन २०८२ · राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको बताउनुभएको छ ।
श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताउनु भयो । आफ्नो राजनीतिक जीवनका कठिन संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा पनि गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गर्नुभयो ।
उहाँले सही कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको दाबी गर्नुभयो ।
आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै ओलीले आफू बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे भएको बताउनु भयो । उहाँले आफूले जीवनभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने मानिस भएको बताउनु भयो ।
अध्यक्ष ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताउनु भयो । १४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र त्यस क्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उहाँले भावुक हुँदै स्मरण गर्नुभयो । पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उहाँको भनाइ थियो ।
आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाव नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताउनु भयो । उहाँले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताउनु भयो । यसलाई उहाँले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गर्नुभयो ।
राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिनुभयो ।
साथै देशको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवाहरूलाई समयमै विवाह गर्न र सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न समेत आग्रह गर्नुभयो ।
न्युज एजेन्सी नेपाल