logo-image

बुधबार, २८ असोज २०८३

६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ , देशको माया गर्दा चौतर्फी प्रहार भयोः अध्यक्ष ओली

आइतबार, १० फागुन २०८२ · राजनीति

६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ , देशको माया गर्दा चौतर्फी प्रहार भयोः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताउनुभएको छ ।
आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उहाँले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभएको हो । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराउनु भयो । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताउनु भयो ।  देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उहाँले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताउनु भयो । उहाँले देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो । राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपु¥याएको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उहाँको भनाइ थियो । 
देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तिब्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकतोक अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, हजारौं वर्ष लगाएर पूर्खाहरूले विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरूलाई भने हटाउँदै जानुपर्ने अध्यक्ष ओलीले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल