बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, २९ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २९ । २०७९ सालमा भन्दा संसद झनै १० वर्ष उमेर घटाएर तन्नेरी भएर आएको छ । अर्थात २०७९ सालमा सांसदहको औसत उमेर ५५ वर्ष थियो भने अहिले त्यो घटेर ४५ कायम भएको छ।
जेन–जी आन्दोलनको जगमा भएको निर्वाचन परिणामले संसद्मा युवा पुस्ताको उपस्थिति बलियो देखिएको छ । नयाँ संसद्मा ४० देखि ५० वर्ष उमेर समूहका ५६ सांसदहरु पुगेसँगै औसत उमेर कम भएको हो । यति मात्रै हैन ३० वर्ष मुनिका पनि संसदमा ८ जना सांसद रहेका छन् । यसअघि ६० देखि माथिका सांसदहरुको संख्या पनि ठूलो हुने गरेकामा अहिले त्यो घटेको छ। ६० वर्षभन्दा माथि उमेर समूहका सांसदको संख्या १२ रहेको छ ।
सबैभन्दा कम उमेर समूहका भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती हुनुहुन्छ । यसबाहेक आरेन राईले श्रम संस्कति पार्टीको हुनुहुन्छ भने रास्वापका ७ सांसद ३० वर्ष मुनिका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा अधिकांश युवा सहभागी थिए । त्यो आन्दोलनमा पुराना राजनीतिक दल तथा वर्षाैंदेखि पदमा रहेर पनि जनआकांक्षा पुरा गर्न नसक्नेहरुप्रति उनीहरुको असन्तुष्टि रहेको थियो । यो असन्तुष्टि भदौ २३ र २४ गते सडक आन्दोलनमा मात्रै सीमित नभएर हालै सम्पन्न निर्वाचनमा समेत देखिएको छ ।
निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसक्दा पुराना दल बढारिएका मात्र छैनन्, यसअघि वर्षांै सत्ता र शक्तिको केन्द्रमा रहेकाहरु समेत जनमतमार्फत अस्विकृत भएका छन् । निर्वाचनको मत परिणाम अनुसार सबैभन्दा बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा ४० देखि ५० उमेर समुहको उपस्थिति बलियो छ ।
मनाङबाट निर्वाचित भएका नेपाली कांग्रेसका टेकबहादुर गुरुङले यो संसद्मा प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेर समूहको प्रतिनिधित्व गर्नुभएको छ । ७१ वर्षका गुरुङपछि महाविर पुन पनि ७१ वर्षकै हुनुहुन्छ । तर उहाँहरुमा केही महिनाको अन्तरले गुरुङ नै ज्येष्ठ हुनुहुन्छ । त्यसपछि ७० वर्षिय नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ज्येष्ठ सदस्यका रुपमा रहनु हुनेछ ।
४० देखि ५० वर्ष उमेर समुह पछि सबैभन्दा धेरै सांसद ३० देखि ४० उमेरका रहनेछन् । यो संसद्मा ३० देखि ४० वर्षका ४८ जनाको उपस्थिति हुँदा ५० देखि ६० वर्ष उमेर समूहका ३९ जना सांसद रहने छन् ।
यसरी हेर्दा संसद तिन वर्षपछि झनै औसत उमेर घटाएर आएको छ। तर उमेर घटाएर आएको संसदले कस्ता कानुन निर्माण गर्न र समयमै निर्माण गर्न सक्छ कि सक्दैन भन्ने चाहि अबका दिनमा हेर्नुपर्छ ।