logo-image

सोमबार, १८ जेठ २०८३

२७ औँ फ्लोरा एक्स्पो शुरु, स्मार्ट पुष्प व्यवसायका लागि सहयोग गर्ने कृषिमन्त्रीको प्रतिवद्धता

बिहिबार, ०५ चैत २०८२ · समसामयिक

२७ औँ फ्लोरा एक्स्पो शुरु, स्मार्ट पुष्प व्यवसायका लागि सहयोग गर्ने कृषिमन्त्रीको प्रतिवद्धता

काठमाडौं, चैत्र ५ । २७ औँ फ्लोरा एक्सपो शुरु भएको छ । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औँ फ्लोरा एक्स्पो २०८२’ शुरु भएको हो  । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ शुरु भएको मेलाको उद्घाटन वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुभयो ।

मन्त्री पौडेलले पुष्पव्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले स्मार्ट पुष्प व्यवसायका लागि प्रदेश सरकारले चालु वर्षको बजेटमा रकम छुट्टाएको बताउँदै त्यो वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यविधि अर्थमन्त्रालयमा पुगिसकेको छ ।

पुष्प व्यवसाय आफैँमा प्रतिष्पर्धी व्यवसाय रहेको र यो व्यवसायमा लाग्ने किसानलाई प्रवद्र्धन गर्न जरुरी रहेको उहाँले बताउनु भयो । पौडेलकाअनुसार यो व्यवसायले विदेशी बजारको व्यवसायसँग पनि प्रतिष्पर्धा गनुपर्ने भएकाले यसलाई अझ बढि प्रविधियुक्त बनाउनुपर्नेछ ।

मन्त्री पौडेलले भन्नुभयो–‘स्मार्ट पुष्प व्यवसायका लागि प्रदेश सरकारले राखेको बजेट रकम हामीले यसको कार्यविधि बनाएर मन्त्रालयले तयार गरिसकेको छ । अहिले त्यो कार्यविधि अर्थमन्त्रालयमा गएर त्यतिकै रोकिएको छ । निर्वाचनले गर्दा पनि रोकिएको हुनसक्छ । मलाइ लाग्छ, यो छिट्टै अघि बढ्छ । पुष्प व्यवसाय आफैँमा प्रतिष्पर्धी व्यवसाय पनि हो । एाकतर्फ यो व्यवसायमा लाग्ने किसानलाई प्रवद्र्धन गर्नुपर्नेछ भने यो व्यवसायले विदेशी बजारको व्यवसायसँग पनि प्रतिष्पर्धा गनुपर्नेछ । यसलाई अझ बढी प्रविधियुक्त बनाउनुपर्नेछ ।’

आयोजक संस्थाकाअनुसार फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ ओटा स्टल रहेको छ । 

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाहरुका विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाव, जरबेरा र कार्नेशन) मा प्रतिष्पर्धा गराइएको छ । मेला आईतवारसम्म चल्नेछ ।

 

ताजा समाचार