logo-image

शुक्रबार, ०४ वैशाख २०८३

हार स्वीकार्दै महेश बस्नेतले भने– जनताको निर्णय सर्वोपरि हुन्छ

शनिबार, २३ फागुन २०८२ · राजनीति

हार स्वीकार्दै महेश बस्नेतले भने– जनताको निर्णय सर्वोपरि हुन्छ

भक्तपुर, फागुन २३ । नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुर क्षेत्र नं. २ को निर्वाचन परिणामलाई आत्मसात् गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले निर्वाचनमा हार-जित हुनुलाई राजनीतिको एक स्वाभाविक प्रक्रियाका रूपमा लिँदै जनताको निर्णय नै सर्वोपरि हुने बताएका छन्। पराजयका बावजुद विचलित नभई उनले विजयी उम्मेदवार राजीव खत्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।

आफ्नो चुनावी अभियानमा अहोरात्र खटिने पार्टी कार्यकर्ता र सूर्य चिन्हमा मतदान गर्ने मतदाताहरूप्रति आभार प्रकट गर्दै बस्नेतले आगामी दिनमा 'रचनात्मक प्रतिपक्ष' को भूमिका निर्वाह गर्ने संकल्प गरेका छन्। उनले सदन बाहिरै रहेर पनि शिक्षा, स्वास्थ्य, रोजगारी र भ्रष्टाचारमुक्त सुशासनका लागि निरन्तर आवाज उठाइरहने बताउँदै बाँकी जीवन समृद्ध भक्तपुर निर्माण र जनसेवामै समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै उनी भन्छन् -

भक्तपुर क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचनमा सहभागी भएको थिएँ। यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु।
विजयी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
सूर्य चिन्हमा मतदान गरी मप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू, तथा चुनावी अभियानमा दिनरात खटिनुहुने पार्टीका साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन। अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ। जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं।
जनताको विश्वास, माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहनेछ।