शनिबार, ०५ वैशाख २०८३
शुक्रबार, ०६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र ६ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्ने बताउनुभएको छ ।
शुक्रवार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले यस्तो बताउनुभएको हो । उहाँले पार्टीका अधिकांश नेता कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा काँग्रेसलाई थापाको आवश्यकता छ भनिरहेको उल्लेख गर्नुभयो ।
साथै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे प्रारम्भिक समिक्षा गरिने बताउनु भयो । प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवारलाई रिपोर्ट पठाउन निर्देशन दिइसकेको उल्लेख सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट प्राप्त भइसकेपछि निर्वाचनको विस्तृत समिक्षा छिट्टै हुने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी निर्वाचन परिणामको प्रारम्भिक समिक्षा गर्छौं । हामीले उम्मेदवारहरुको रिपोर्ट मागिसकेका छौँ । रिपोर्ट आइसकेपछि छिट्टै केन्द्रिय समितिको बैठक बसेर विस्तृत रुपमा समिक्षा गछौं । सभापतिको राजीनामा बारेमा केन्द्रिय समितिका साथिहरुले आफ्नो राय राख्नुपर्यो । विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेश हुन्छ । पदाधिकारीले मात्र भने हुँदैन । अधिकांश नेता कार्यकर्ताले अहिलेको परिस्थितिमा नेपाली काँग्रेसमा गगन थापाको आवश्यकता छ । त्यसैले राजीनामा दिनुहुन्न भन्ने धारणा पहिलेदेखि नै आइरहेको थियो ।’
बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुने एजेण्डा तय भएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको थियो ।
-न्युज एजेन्सी नेपाल