बिहिबार, ०३ वैशाख २०८३
सोमबार, ०२ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र २ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब आफू पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीतिमा भने निरन्तर सक्रिय रहने बताएका छन्। आफ्नो व्यक्तिगत इच्छा नहुँदा नहुँदै पनि दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै उनले एक पटकको जित र अर्को पटकको हार दुवै निर्णयबाट आफू सन्तुष्ट रहेको स्पष्ट पारेका छन्।
२०७५ सालमा तत्कालीन 'स्वतन्त्र मधेश गठबन्धन'लाई सरकारले काम गर्न अवरोध गरेपछि बाध्य भएर पार्टी खोल्नुपरेको र अरू नेताहरूले नेतृत्व लिन नमानेका कारण आफू अध्यक्ष बन्नुपरेको उनले स्मरण गरेका छन्। २०७९ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय दल बनाउन नेताहरूको आग्रहमा चुनाव लडेका राउतले २०८२ को निर्वाचनमा पनि कार्यकर्ताको मनोबल गिर्न नदिन अन्तिम समयमा उम्मेदवारी दिएको बताएका छन्।
चुनावी परिणाम जे-जस्तो आए पनि अब भने संसदीय यात्रालाई पूर्णविराम लगाउँदै पार्टी र आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने उनको योजना देखिन्छ।
आफ्नो निर्णयलाई दार्शनिक भाव दिन उनले दुष्यन्त कुमारको चर्चित उर्दू शायरी उद्धृत गरेका छन्:
“मेरे सीने में नहीं तो तेरे सीने में सही, हो कहीं भी आग, लेकिन आग जलनी चाहिए।”
यो शायरीमार्फत उनले आफू पदमा नरहे पनि परिवर्तन र अधिकारको "आगो" अरूको माध्यमबाट भए पनि बलिरहनुपर्ने सन्देश दिएका छन्।