logo-image

आइतबार, १७ जेठ २०८३

विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य

सोमबार, ०२ चैत २०८२ · अर्थ

विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य

काठमाडौं, चैत्र २ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको छ । दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण गर्नेछ ।

सम्झौतापछि ओम्नी (काबरा) ग्रुपले ससीला मोटर्स प्रा.लि.सँगको सहकार्यमा किटोन भ्यान र चेरी वान्डा बस देशभर बिक्री गर्नेछ । नेपालका अटोमोबाइल क्षेत्रमा स्थापित दुई कम्पनीबीचको यो सहकार्यलाई विद्युतीय कमर्सियल सवारीसाधनको बजार विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा विशेष पहिचान बनाएको ससीला मोटर्स प्रा.लि. विद्युतीय कमर्सियल सवारीसाधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा चिनिन्छ । त्यस्तै ओम्नी (काबरा) ग्रुप पनि व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा करिब ३५ वर्षदेखि सक्रिय रहँदै आएको कम्पनी हो । यी दुई संस्थाबीचको सहकार्यले नेपाली अटोबजारमा विद्युतीय सवारीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ ।

ससीला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा विद्युतीय व्यवसायिक सवारीसाधनको प्रवद्र्धन र विस्तारका लागि यो साझेदारी महत्वपूर्ण हुने बताए । उनका अनुसार यस सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने, देशव्यापी पहुँच विस्तार हुने तथा ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ ।

ओम्नी (काबरा) ग्रुपका निर्देशक उदयन काबराले ससीला मोटर्ससँगको सहकार्यबाट बजारको आवश्यकता अनुरूप प्रभावकारी, भरपर्दो र दिगो व्यवसायिक सेवा प्रदान गर्ने बताएका छन् । उनले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै बिक्रीसँगै सर्भिस तथा अन्य सेवासुविधालाई समेत चुस्त र विश्वसनीय बनाइने जानकारी दिए ।