आइतबार, १७ जेठ २०८३
सोमबार, ०२ चैत २०८२ · अर्थ
काठमाडौ, चैत २ । उच्च शिक्षाका लागि नेपालबाट विदेश जानेहरुको संख्या बढ्दै गर्दा नेपालबाट बाहिरिने रकम पनि बढेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्म विदेश पढ्न जानेहरुबाट ७७ अर्ब बाहिरिएको छ।
गत आर्थिक वर्ष २०८१÷०८२ को माघ महिनासम्म विदेश पढ्न जानेहरुबाट ६४ अर्ब बाहिरिएको थियो । यो वर्षको माघ महिनासम्ममा यस्तो बाहिरिने रकममा १३ अर्बले बृद्धि भएको छ । जसका कारण सात महिनामै ७७ अर्ब बाहिरिएको हो ।
उच्च शिक्षा सँगै रोजगारीका लागि बाहिरिनेहरुको क्रम बढेको छ। केहिले नेपालमा गुणस्तरीय उच्च शिक्षा नभएका कारण बाहिरिएका छन् भने केहि उच्च शिक्षा पछि पनि बेरोजगार रहने समस्याका कारण । त्यसैले अहिले अधिकांश विदेशमा रोजगारीसँगै गुणस्तरीय शिक्षा पाइने अपेक्षाका साथ बाहिरिरहेका छन् ।
विदेशबाट पढ्न आउनेहरु नगन्य रहेको तर पढ्न जानेहरु धेरै भएकाले मुलुकको सेवा खाता घाटामा गएको छ। पढ्न जानेहरुमात्रै हैन घुम्न जानेहरुका कारण समेत बाहिरिने रकम बढेको हो ।
माघ महिनासम्म सेवा खाताअन्तर्गत भ्रमण व्यय ५.१ प्रतिशतले वृद्धि भई १ खर्ब २१ अर्ब २७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ७७ अर्ब ५७ करोड रहेको हो । अर्थात माघ महिनासम्म घुम्न जानेहरुबाट भने ४४ अर्ब बाहिरिएको छ ।
गत आर्थिक वर्षको माघ महिनासम्म भने कुल भ्रमण व्यय १ खर्ब १५ अर्ब ३४ करोड रहेको थियो । जसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १० करोड रहेको थियो । अर्थात माघ महिनासम्ममा ५१ अर्ब घुम्न जानेहरुबाट बाहिरिएको छ । यसरी हेर्दा घुम्न जानेहरुबाट बाहिरिने रकममा कमि आएपनि विदेशमा पढ्न जानेहरुका कारण भने सेवा खाता घाटामा गएको हो ।
खुद सेवा आय ५० अर्ब १६ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको माघ महिनासम्म खुद सेवा आय ३६ अर्ब १७ करोडले घाटामा रहेको थियो । अर्थात सेवा खाता घाटामा जाने क्रम बढि रहेको छ । भ्रमण आय २.६ प्रतिशतले कमी आई ४७ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४९ अर्ब २८ करोड रहेको थियो । अर्थात विदेशबाट घुम्न आउने पर्यटकबाट नेपालमा भित्रिने रकममा कमि आएको छ ।