logo-image

बुधबार, ३१ असार २०८३

रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’

बिहिबार, १४ फागुन २०८२ · राजनीति

रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ ।
चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो । उहाँले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउनु भयो । शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो । यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पु¥याउने उहाँको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो । युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिनुभयो । 
मतदाताहरूसँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ को संज्ञा दिनुभयो । —न्युज एजेन्सी नेपाल