logo-image

शुक्रबार, ०४ वैशाख २०८३

मतदातामा घट्दैछ भोट हाल्ने जागर, यो निर्वाचनमा इतिहासकै कम मत

मङ्गलबार, २६ फागुन २०८२ · राजनीति

काठमाडौं, फागुन २६ ।  गत फागुन २१ गते भएको निर्वाचनमा अहिलेसम्मकै कम मतदान भएको देखिएको छ । जेन जि आन्दोलन पश्चात एकाएक भएको यो निर्वाचनमा इतिहासकै कम मत खसेको देखिएको हो । 
फागुन २१ गते भएको निर्वाचनमा कुल ६० प्रतिशत मात्रै मत खसेको छ । यो निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता र  ९२ लाख ४० हजार १ सय ३१ महिला मतदाता र २ सय जना अन्य मतदाता  रहेका थिए ।  तर यस्तो संख्याको ६० प्रतिशत मात्रै भोट खसेको छ। 
यो भन्दा अघिल्लो २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो । अहिलेको  मत प्रजातन्त्र पछिकै कम खसेको हो । २०४६ को जनआन्दोलन पश्चात भएको २०४८ को निर्वाचनमा ६५ दशमलव एक पाँच प्रतिशत मत खसेको थियो । त्यसपछि २०५१ सालमा भएको निर्वाचनमा ६१ दशलमव आठ छ प्रतिशत मत खसेको थियो । त्यसपछि २०५६ सालमा भएको निर्वाचनमा भने २०५१ को तुलनामा मतदान बढ्यो र ६७ दशमलव एक तिन प्रतिशत मत खस्यो । 
२०५१ सालमा नेकपा माओबादीको शसस्त्र जनयुद्ध र २०५८ सालमा तत्कालिन राजा बिरेन्द्र शाहको पुरै परिवारकै हत्या भएपछि नेपालमा संबैधानिक राजतन्त्रप्रति बितृष्णा बढ्न थाल्यो । अझ २०६१ सालमा राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनकाल लागू गरेपछि जनतामा झनै असन्तुष्टि फैलियो । र, २०६३ मा उनले सत्ता जनतालाई नै सुम्पीनु पर्याे । यसपछि २०६४ सालमा संबिधान सभाको निर्वाचन भयो । जसमा ६३ दशमलव दुई नौ प्रतिशत मत खस्यो । तर  संबिधानसभाले संबिधान निर्माण गर्न नसकेपछि पुन फेरी २०७० मा संबिधान सभाकै निर्वाचन भयो । त्यो बेलामा अहिलेसम्मकै धेरै मत अर्थात ७८ दशलमव सात चार प्रतिशत मत खस्यो । यसपछि २०७४ सालको निर्वाचनमा ६८ दशमलव ६ सात प्रतिशत मत खस्यो । अर्थात २०७४ को संबिधान सभाको निर्वाचन पश्चात भएको तिनवटै प्रतिनिधि सभाको निर्वाचनमा खस्ने मत प्रतिशत घट्दै गएको छ । 
कुन निर्वाचनमा कति प्रतिशत मत खस्यो 
निर्वाचन  वर्ष २०४८
खसेको मत प्रतिशत  ः ६५.१५
निर्वाचन वर्ष २०५१
खसेको मत प्रतिशत  : ६१.८६
निर्वाचन वर्ष २०५६ 
खसेको मत प्रतिशत  : ६७.१३
निर्वाचन वर्ष २०६४
खसेको मत प्रतिशत  : ६३.२९
निर्वाचन  वर्ष  २०७०
खसेको मत प्रतिशत : ७८.७४
निर्वाचन वर्ष २०७४  
खसेको मत प्रतिशत  : ६८.६७
निर्वाचन वर्ष २०७९
खसेको मत प्रतिशत  : ६१.६३
निर्वाचन  वर्ष २०८२
खसेको मत प्रतिशत  : ६० प्रतिशत