logo-image

बिहिबार, ३२ असार २०८३

भक्तपुरको नयाँ अभियान: बजारमा अब एकैनासका छाना, २ फिटको मापदण्ड अनिवार्य

सोमबार, ०२ चैत २०८२ · समसामयिक

भक्तपुरको नयाँ अभियान: बजारमा अब एकैनासका छाना, २ फिटको मापदण्ड अनिवार्य

 

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाले नगरको ऐतिहासिक र सांस्कृतिक मौलिकतालाई जीवन्त राख्न मुख्य बजार क्षेत्रका पसलहरूमा एकरूपता झल्किने गरी छाना (छत) राख्नुपर्ने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यस प्राचीन सहरको वास्तुकला र स्वरूपलाई विश्वस्तरमा कायम राख्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो निर्णय लिएको हो।

नगरपालिकाद्वारा जारी सूचना अनुसार, नगरको मुख्य व्यापारिक केन्द्रहरूमा हुने अव्यवस्थित संरचनालाई नियन्त्रण गर्न र सहरको सौन्दर्यलाई बढाउन यो कदम चालिएको हो। विशेषगरी च्याम्हासिंहदेखि भार्वाचोसम्म र इताछेंदेखि खौमा हुँदै साकोठासम्म फैलिएको मुख्य बजार क्षेत्रमा सञ्चालित पसलहरूमा यो नियम तत्काल लागू हुनेछ।

मापदण्ड र कार्यान्वयनको प्रक्रिया नगरपालिकाले स्थानीय जनता र सरोकारवालाहरूसँगको आवश्यक छलफल र प्राप्त राय सुझावका आधारमा छानाको निश्चित मापदण्ड समेत तोकेको छ। जसअनुसार पसलका अगाडि राखिने छानाहरू नगरपालिकाले तयार पारेको विशेष नमूना (डिजाइन) अनुसारकै हुनुपर्नेछ।

यस्ता छानाहरूको चौडाइ बढीमा २ फिट मात्र हुनुपर्ने नियम बनाइएको छ। व्यवसायीहरूले छाना राख्नुअघि सम्बन्धित वडा कार्यालयसँग अनिवार्य समन्वय गर्नुपर्नेछ।

पर्यटन र मौलिकताको संरक्षण भक्तपुर नगरपालिकाका अनुसार सन् १९७९ मा युनेस्कोले यहाँका सम्पदाहरूलाई विश्व सम्पदामा सूचीकृत गरेसँगै यहाँको मौलिकता जोगाउनु स्थानीय सरकारको प्रमुख दायित्व बनेको छ। नगरपालिकाले भनेको छ, "भक्तपुरको सांस्कृतिक वैभवताकै आधारमा यहाँ पर्यटन उद्योग फस्टाइरहेको छ र नगरवासीको आर्थिक गतिविधिमा वृद्धि भएको छ। यस ऐतिहासिक धरोहरको स्वरूप नबिग्रियोस् भन्नका लागि बजार क्षेत्रका पसलका अगाडि झुण्ड्याइने त्रिपाल वा जस्तापाताका छानाहरूमा एकरूपता ल्याउन खोजिएको हो।"

यो निर्णयले भक्तपुर घुम्न आउने पर्यटकहरूलाई सहरको व्यवस्थित र परम्परागत स्वरूपको अनुभूति गराउने विश्वास गरिएको छ। नगरपालिकाले सम्पूर्ण नगरवासी र व्यवसायीहरूलाई यो सूचनाको पालना गरी सफा, सुन्दर र मौलिक भक्तपुर निर्माणको अभियानमा सहयोग गर्न अपिल समेत गरेको छ।

ताजा समाचार