logo-image

बिहिबार, ०३ वैशाख २०८३

बुबाको जन्मदिनमा सुहाङको भावुक सन्देश: हजुरले देखाएको निष्ठाको बाटो नै मेरो मार्गदर्शन

बिहिबार, २८ फागुन २०८२ · राजनीति

बुबाको जन्मदिनमा सुहाङको भावुक सन्देश: हजुरले देखाएको निष्ठाको बाटो नै मेरो मार्गदर्शन

काठमाडौं, फागुन २८ ।  नेकपा (एमाले) का युवा नेता तथा सांसद सुहाङ नेम्वाङले आफ्ना बुबा स्व. सुवासचन्द्र नेम्वाङको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत एउटा भावुक सन्देश लेखेका छन्।

उनले बुबा भौतिक रूपमा साथमा नभए पनि उनले कोरेको निष्ठाको मार्ग र उज्यालो आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। देशको वर्तमान परिस्थितिमा धेरैले बुबाको अभाव महसुस गरिरहेको र उनको दूरदृष्टिलाई स्मरण गरिरहेको सुहाङले उल्लेख गरेका छन्।

आफ्नो सन्देशमा सुहाङले बुबाले देखाउनुभएको आदर्श र सिद्धान्तलाई नै मूल मन्त्र मानेर आफू अघि बढ्ने प्रयत्न गरिरहेको उल्लेख गरेका छन्। बुबाले सधैं 'राजनीति पद प्राप्तिको सोपान मात्र नभएर जनसेवाको कठोर जिम्मेवारी र जवाफदेहिता हो' भन्ने गरेको स्मरण गर्दै उनले आज आफू त्यही जिम्मेवारीका साथ जनताको बीचमा उभिएको बताएका छन्। बुबाको जन्मदिनमा सुहाङले पुनः एकपटक बुबाको आदर्श र राष्ट्रप्रतिको समर्पणलाई आफ्नो जीवनको अटुट मार्गदर्शन बनाउने प्रतिज्ञा गरेका छन्।

बुबा,
आज तपाईंको जन्मदिन,
भौतिक रूपमा तपाईं हामीबीच हुनुहुन्न, तर नेपाली समाजको रूपान्तरणका लागि तपाईंले कोरेको मार्ग र छरेको उज्यालो आज पनि उत्तिकै सान्दर्भिक छ। तपाईं आज पनि आम नेपालीको मानसपटलमा उत्तिकै प्रिय र अजम्बरी हुनुहुन्छ। देशको वर्तमान परिस्थितिमा धेरैले तपाईंको अभाव महसुस गरिरहेका छन् र तपाईंको दूरदृष्टिलाई स्मरण गरिरहेका छन्।
बुबा,
मलाई थाहा छैन, ‘तपाईंले देखाउनुभएको त्यो निष्ठाको बाटो र आदर्शको उज्यालोलाई मैले कति आत्मसात् गर्न सकेँ?’ सकुँला ? तर एउटा कुरा भने गौरवका साथ भन्न सक्छु, ‘मेरा हरेक पाइलाहरू तपाईंले देखाउनुभएकै मार्गदर्शनमा छन्। तपाईंले छाडेर जानुभएका सिद्धान्त, मूल्य र मान्यताहरूलाई नै मूल मन्त्र मानेर म अघि बढ्ने निरन्तर प्रयत्न गरिरहेको छु।’
तपाईं सधैं भन्नुहुन्थ्यो नि, ‘राजनीति फगत पद प्राप्तिको सोपान होइन, यो त जनसेवाको कठोर जिम्मेवारी र राज्यप्रतिको अविचलित उत्तरदायित्व र जवाफदेहिता हो। त्यही जिम्मेवारी र जवाफदेहिताको भावसहित आज म जनताको बीचमा मन, वचन र कर्मले उभिएको छु।
तपाईंको जन्मदिनमा,
म पुनः एकपटक तपाईंको आदर्श, मूल्य र राष्ट्र प्रतिको अगाध समर्पणलाई आफ्नो जीवनको अटुट मार्गदर्शन बनाउने प्रतिज्ञा गर्दछु। हजुरले हिँड्नुभएको निष्ठाको बाटोमा र दिनुभएको आदर्शको उज्यालो समाएर सधैं अघि बढ्ने वाचा गर्दछु, बुबा।