सोमबार, १८ जेठ २०८३
आइतबार, ०१ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र १ । ओभरटेकको सामान्य विषयलाई लिएर दुई जना राइडर (भ्लगर) माथि हातपात गर्ने कार चालकको भिडियो यतिबेला सामाजिक सञ्जालमा सर्वत्र निन्दनीय बनेको छ। "दाइ किन यस्तो गर्नुभएको?" भन्दै सम्झाउन खोज्दा उल्टै मुक्का प्रहार गर्ने ती चालक अहिले प्रहरीको 'हिट लिस्ट' मा परेका छन्।
गलत ठाउँबाट ओभरटेक गर्ने कार चालकले उल्टै 'आरजी राइडर भ्लग' का विशाल तामाङ र 'आरबी भ्लग लिजेन्ड' का लक्सकुमार राईमाथि आक्रमण गरेका थिए। भिडियोमा चालकले अश्लील गाली गर्दै, "भिडियो हाले खोजी-खोजी मार्छु" भन्दै ज्यान मार्ने धम्की दिएका छन्। राइडरहरूले “दाइ किन यस्तो गर्नुभयो?” भन्दै शान्तिपूर्वक सम्झाउने प्रयास गरे पनि चालकले अभद्र व्यवहार र हातपात गरेको स्पष्ट देखिन्छ।
घटना सार्वजनिक भएपछि प्रहरीले कुटपिट र अभद्र व्यवहारमा संलग्न कार चालकको खोजी सुरु गरेको छ । आफूहरूमाथि अन्यायपूर्ण कुटपिट र ज्यान मार्ने धम्की आएपछि पीडित युवाहरूले जिल्ला प्रहरी परिसर, भक्तपुरमा जाहेरी दिएका छन्।
सडकमा यात्रा गर्दा चालक र सवारीधनी दुवैले सहानुभूति, संयम र नियमको पालना गर्न आवश्यक छ। साना विवादहरूलाई पनि हातपात वा अपशब्दको माध्यमबाट समाधान गर्ने प्रयासले दुर्घटना, चोटपटक र सामाजिक तनाव निम्त्याउन सक्छ। उक्त घटनाको भिडियो बाहिरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कार चालकको हर्कतप्रति तीव्र आक्रोश व्यक्त गरिरहेका छन् ।