बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, २९ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २९ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएसँगै नयाँ सरकार कहिले बन्छ भन्ने विषयमा चासो बढेको छ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम जोड्दा दुईतिहाइ बहुमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। निर्वाचनका क्रममा पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।
रास्वपाका एक नेताका अनुसार समानुपातिक सांसदहरूको टुङ्गो लागेपछि सरकार गठनबारे छलफल अघि बढाइनेछ। निर्वाचन आयोगका अनुसार समानुपातिक सांसद छनोटका लागि दलहरूलाई चाँडै पत्र पठाइने बताएका छन्। आयोगले दुई दिनभित्र नाम पठाउन समय दिने र चैत ५ भित्र अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना बनाएको छ।
रास्वपाले सरकार गठनपछि सानो आकारको मन्त्रिपरिषद् बनाउने संकेत दिएको छ। वाचापत्रअनुसार १८ सदस्यीय मन्त्रिपरिषद्को योजना भए पनि पहिलो क्याबिनेट करिब १५ सदस्यीय हुन सक्ने नेताहरू बताउँछन्। मन्त्री चयनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ।
रास्वपाले मन्त्री चयनबारे औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन। रास्वपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री शिशिर खनालका अनुसार मन्त्री चयनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवैको भूमिका रहने सम्भावना छ।
यस्तै, प्रदेश संरचनाबारे भने रास्वपाले संविधान संशोधनबिना कुनै परिवर्तन सम्भव नरहेको जनाएको छ। यस विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले पहिले छलफलका लागि ‘डिस्कसन पेपर’ तयार गरिने नेताहरूको भनाइ छ।
#RSP