logo-image

सोमबार, १८ जेठ २०८३

बाँदरमाथि क्रूरताको पराकाष्ठा: कुकुर लगाएर गरे आँधा दर्जन बाँदरकाे बीभत्स हत्या

बुधबार, २७ फागुन २०८२ · समसामयिक

बाँदरमाथि क्रूरताको पराकाष्ठा: कुकुर लगाएर गरे आँधा दर्जन बाँदरकाे बीभत्स हत्या

ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुमा बाँदरलाई अमानवीय तवरले यातना दिई हत्या गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–२ घर भई हाल थेचम्बु बस्ने २१ वर्षीय 'संगम' भन्ने छुप्पु हेम्वया रहेका छन्।

केही दिनअघि सामाजिक सञ्जालमा एउटा विचलित बनाउने भिडियो सार्वजनिक भएको थियो, जसमा बाँसको पासोमा परेका बाँदरहरूलाई कुकुर लगाएर टोकाइएको र लाठीले प्रहार गरी बीभत्स तवरले मारिएको देखिएको थियो। पक्राउ परेका हेम्वयाले नै उक्त भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त घटना प्रतिनिधिसभाको निर्वाचन भन्दा केही समय अगाडिको हो। खेतको बालीनाली जोगाउन थापिएको पासोमा परेका बाँदरहरूमाथि सो अमानवीय आक्रमण गरिएको थियो। पशुपन्छी अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था र सर्वसाधारणको गम्भीर ध्यानाकर्षण र तीव्र दबाबपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। "हामीले अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिसकेका छौँ," प्रहरीले जनाएको छ।

पशुपन्छी अधिकारकर्मीको आक्रोश
यसअघि 'स्नेहाज केयर' ले यस घटनाप्रति कडा आपत्ति जनाउँदै प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो। संस्थाले भनेको छ, "जनावरहरू पनि हामी जस्तै पीडा र डर महसुस गर्छन्। उनीहरूलाई यसरी तड्पाएर मार्नु मनोरञ्जन होइन, क्रूरताको पराकाष्ठा हो।" अधिकारकर्मीहरूले पक्राउ परेका व्यक्तिमाथि 'राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९' बमोजिम कडा कानुनी कारबाहीको माग गरेका छन्।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा यसका संशोधनअनुसार संरक्षित वन्यजन्तु, जस्तै ‘आसामी रातो बाँदर’, मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । आसामी रातो बाँदर संरक्षित सूचीमा पर्छ। तर सामान्य जंगली रातो बाँदर (अन्य प्रजाति) संरक्षित नभए पनि ‘अन्य वन्यजन्तु’को रूपमा दफा २६(५) (ख) अनुसार अपराध गरेमा संरक्षित वन्यजन्तुको सजायको आधा सजाय लाग्ने व्यवस्था छ।

सरकारले अघिल्लो महिना जंगली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। यसअनुसार किसानहरूले आफ्नो खेतबारीमा बाली नष्ट गर्ने बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाउँछन्, तर मार्न भने पाइँदैन। यद्यपि, यस्तो घोषणा भए पनि यदि बाँदर मरेको अवस्थामा फेला परेमा वन कार्यालयलाई तुरुन्त जानकारी गराउनुपर्छ। मृत शरीरलाई कुकुरलाई खुवाउन, मानिसले खान वा व्यक्तिगत प्रयोगका लागि राख्न भने पाइँदैन।

वन्यजन्तुमाथि गरिने यस्तो हिंस्रक व्यवहार कानुनी रूपमा दण्डनीय र मानवीय रूपमा निन्दनीय मानिन्छ। प्रहरीले अभियुक्त पक्राउ गरेसँगै अब यसले अन्य व्यक्तिहरूलाई पनि पशुपन्छीप्रति निर्दयी नबन्न कडा सन्देश दिने विश्वास गरिएको छ।

ताजा समाचार