बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, ०६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र ६ । गत फागुन २१ को आम निर्वाचनमा १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको औपचारिक गृहकार्य सुरु गरेको छ। बिहीबार काठमाडौँको एक होटलमा बसेको पार्टीका शीर्ष नेताहरूको उच्चस्तरीय बैठकले आगामी सरकारको खाका र प्राथमिकताका विषयमा सघन छलफल गरेको हो।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच करिब डेढ घण्टा चलेको उक्त बैठकमा मन्त्रिपरिषद्को आकार, मन्त्रीहरूको चयन र सरकारको नीतिगत प्राथमिकताका बारेमा प्रारम्भिक मार्गचित्र तयार पारिएको छ। निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन शाहले आगामी चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने तयारी भएको छ।
नयाँ संसद् भवनमा सांसदहरूको शपथ
निर्वाचन आयोगले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक बाटो खुला भएको छ। संघीय संसद् सचिवालयले आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित २७५ सांसदहरूको शपथ ग्रहणको समय निश्चित गरेको छ।
जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित पुरानो संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा क्षति पुगेकाले यसपटक सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा अस्थायी व्यवस्थापन गरी शपथ कार्यक्रम आयोजना गरिँदैछ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार हलमा माइक, बत्ती र अन्य प्राविधिक जडानका कामहरू अन्तिम चरणमा पुगेका छन्।
निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेको छ। अबको केही दिनमै नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने र नयाँ राजनीतिक यात्रा सुरु हुने अपेक्षा गरिएको छ।