बिहिबार, २९ असोज २०८३
बिहिबार, २८ फागुन २०८२ · समसामयिक
सुर्खेत, फागुन २८ । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणले यतिखेर देशव्यापी रूप लिएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै सुर्खेतदेखि काठमाडौँको माइतीघरसम्म विरोध प्रदर्शन चर्किएको छ।
वीरेन्द्रनगर नगरपालिका-१ की इनिशा विक गत २३ फागुन शनिबार बिहान ६ बजे ‘विद्यालयमा प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी थिइन्। उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनले घरबाट निस्कँदा आमा तिला विकलाई "छिट्टै फर्किन्छु, खाना पकाएर राख्नुहोला" भनेकी थिइन्।
तर, बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर-४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनी अचेत अवस्थामा फेला परिन्। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। विद्यालयमा बुझ्दा उक्त दिन कुनै परीक्षा नभएको र विद्यालय समेत बन्द रहेको खुलेपछि घटना थप शंकास्पद बनेको थियो।
मृतककी आमा तिला विकका अनुसार इनिशाको अवस्था भयावह थियो। घटनास्थलमा उनको कम्मरभन्दा मुनिको भागबाट रगत बगिरहेको, कपाल भुत्लिएको र शरीरभरि चोट देखिएको परिवारको दाबी छ। पीडित पक्षले इनिशाको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रारम्भिक अनुसन्धानमा इनिशा र वीरेन्द्रनगर-९ का एक किशोरबीच सामाजिक सञ्जाल (वाट्सएप) मार्फत प्रेम सम्बन्ध रहेको देखिएको छ। प्रेमी भनिएका ती किशोरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा रहेकाहरू अनमोल गौलीसहित अन्य तीन जना (सबै १८ वर्षमुनिका नाबालक) रहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनीहरूमाथि सोधपुछ जारी छ। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण र बलात्कार भए/नभएको थप प्रष्ट हुनेछ।
घटनाको विरोधमा बुधबार वीरेन्द्रनगरमा पीडित परिवार र आफन्तले ठूलो प्रदर्शन गरेका छन्। यस्तै, काठमाडौँको माइतीघर मण्डलामा भेला भएका युवा तथा दलित अधिकारकर्मीहरूले "इनिशा विकलाई न्याय दे" भन्दै दलित समुदायमाथि हुने हिंसा अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको र वैज्ञानिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। पोष्टमार्टमको विस्तृत रिपोर्ट आउन बाँकी रहेकाले सबैको ध्यान यतिखेर अस्पतालको प्रतिवेदनतर्फ मोडिएको छ।