बिहिबार, ०३ वैशाख २०८३
सोमबार, ०२ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र २ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकहितमा दुई दशकदेखि अनवरत सक्रिय अधिकारकर्मी भूमिका श्रेष्ठ प्रतिनिधि सभाको सदस्य (सांसद) बनेकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आदिवासी जनजाति कोटामा समानुपातिक सांसदका रूपमा चयन भएकी हुन्। यससँगै श्रेष्ठ नेपालको इतिहासमै संघीय संसद (प्रतिनिधि सभा) मा पुग्ने पहिलो ट्रान्सजेन्डर महिला बनेकी छन्।
चन्द्रागिरि-१४, नैकापकी स्थायी बासिन्दा भूमिकाको राजनीतिक तथा सामाजिक यात्रा निकै प्रेरणादायी छ। सन् २००४ मा टेलिभिजनमार्फत आफ्नो लैङ्गिक पहिचान सार्वजनिक गरेर चर्चामा आएकी उनले त्यसयता समुदायको अधिकारका लागि सडकदेखि नीतिगत तहसम्म वकालत गर्दै आएकी छिन्। उनको साहसी कदम र योगदानको कदरस्वरूप सन् २०१९ मा बेलायतस्थित 'एपोलिटिकल' संस्थाले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेटेको थियो। त्यस्तै, सन् २०२२ मा उनले अमेरिकी विदेश मन्त्रालयबाट प्रतिष्ठित 'अन्तर्राष्ट्रिय साहसी महिला' अवार्ड समेत प्राप्त गरेकी थिइन्।
ब्लु डायमण्ड सोसाइटीमा सक्रिय श्रेष्ठ पछिल्लो समय वैकल्पिक राजनीतिको धार समात्दै रास्वपामा आबद्ध भएकी हुन्। नीति निर्माणको सर्वोच्च थलोमा उनको उपस्थितिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारलाई कानुनी र व्यावहारिक रूपमै स्थापित गर्न निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि भूमिकाको यो विजयलाई एक महत्त्वपूर्ण फड्को मानिएको छ।