बिहिबार, २१ साउन २०८३
बिहिबार, २१ साउन २०८३ · राजनीति
काठमाडौं, साउन २१
दुर्गा प्रसाई सर्बोच्च नेता र आफू पार्टी अध्यक्ष रहने गरी आउँदो साउन २८ गते ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने डा.धवल शमशेर राणाले जानकारी दिएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा राणाले देश जोगाउन हिन्दु राज्यसहितको राजसंस्था अनिवार्य रहेकोसमेत राणाले जिकिर गरे ।
डा.राणाले पार्टीको मुख्य लक्ष्य ‘हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्था पुनस्र्थापना’ रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफूहरुले लिएको उद्देश्य पूरा हननसक्ने भएपछि दुर्गा प्रसाहईसँग मिलेर नयाँ पार्टी गठन गर्नुपरेको जनाए । राणाले आफ्नो पार्टीको राजनीतिक सिद्धान्त मूलतः प्रवद्र्धनवाद रहने बताउँदै भने,“हामीहरु दक्षिणपन्थी वा बामपन्थी नभई नेपालको आफ्नै मोलिक धर्म, संस्कार, संस्कृति र सभ्यतामा आधारित सिद्धान्तबाट निर्देशित रहेर स्वाधीन र समृद्ध नेपाल बनाउने हो ।”
देशको शासन–सत्ता निर्वाचित जनप्रतिनिधिले गर्ने भएपनि राजसंस्थाले राष्ट्रको अभिभावक, राष्ट्रिय स्वधीनता र एकताको भूमिका निर्वाह गर्ने उनको भनाइ छ । नेपाल विविध जाति, जनजाति र धर्मावलम्बीको देश भएकाले राजसंस्था राष्ट्रिय एकताको साझा केन्द्र बन्ने राणाले दाबी गरे ।
राजसंस्था हटेको २ दशकमा देशको अवस्था निकै कमजोर बनेको भन्दै त्यसलाई पुनस्र्थापना गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । हिन्दू राज्य कुनै एक धर्मका नागरिकका लागि मात्र नभई सबै धर्मावलम्बीको धार्मिक स्वतन्त्रताको सम्मान गर्ने व्यवस्थासहितको हुने पनि बताए ।
विश्वमा कृस्चियनहरुको १०० बढी, मुसलमानको ४७, बुद्धिस्टको ११ वटा देशहरु धार्मिक पहिचानसहित भए पनि विश्वभर डेढ अरब सनातन हिन्दु धर्मालम्बीहरुको एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष बनाइनु दुर्भाग्य भएको उनको कथन छ । “राजनीतिक स्थायीत्व र धार्मिक पर्यटनमा वृद्धि गरी आर्थिक सम्पन्नताका लागि नेपाललाई ‘हिन्दू राज्य’को पहिचानलाई पुनस्र्थापना अत्यवश्यक छ” राणाले भने ।
पार्टीलाई लोकतान्त्रिक, युवा तथा महिलामैत्री बनाइने, नेतृत्व चयनदेखि निर्णय प्रक्रियासम्म बहुमत र सर्वसम्मतिको अभ्यास गरिने उनको भनाइ छ ।