शनिबार, १२ मंसिर २०८३
बुधबार, ०४ चैत २०८२ · अर्थ
काठमाडौं, चैत ४ । विश्वबजारमा देखिएको ऊर्जा संकटसँगै नेपालमा समेत पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र वस्तु तथा सेवा महंगिँदै जाने देखिएको छ । ढुवानीदेखि उत्पादन लागतसमेत वृद्धि हुँदा सर्वसाधारणको भान्सा झनै महंगो हुने र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ । तत्काल युद्ध नरोकिए पेट्रोलियम पदार्थ ८ देखि ९ प्रतिशतसम्म बढ्नसक्ने देखिएको छ ।
पश्चिम एसियामा बढेको तनावका कारण विश्वभर इन्धन संकट र मूल्यवृद्धि भइरहेका बेला नेपाल आयल निगमले पनि आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्यो, जसअनुसार पेट्रोलमा प्रतिलिटर १५ र डिजल तथा मट्टितेलमा १० रुपैयाँ बढाइयो । यो वृद्धिले नेपालमा ह्वात्तै बढ्ने देखिएको छ । ढुवानी भाडामा बृद्धि हुँदा दाल, तेल, चामलसँगै तेलको मूल्य बढाउने जोखिम हुन्छ ।
विश्वबजारमा उत्पादन हुने रासायनिक मलमध्ये एक तिहाई पश्चिम एसियामा हुने भएकाले अहिलेको युद्धले रासायनिक मलको उत्पादन र आपूर्तिमा समेत प्रभाव पर्ने देखिएको छ । युद्ध लम्बिए आगामी दिनमा तरकारी तथा स्वदेशी खाद्यान्नसमेत महंगिनेछ । युद्ध तत्काल नरोकिए उपभोक्ता मूल्य ८ देखि ९ प्रतिशतसम्म बढ्न सक्ने अर्थविद्हरु बताउँछन् ।
अन्तर्राष्ट्रिय मुद्राकोषको अध्ययन अनुसार तेलको मूल्य प्रतिब्यारेल १० डलर बढ्दामात्रै पनि विश्व अर्थतन्त्रमै असर पर्छ र शून्य दशमलव एक–पाँच प्रतिशतले अर्थतन्त्र घट्छ । र, संसारभर महगी शुन्य दशमलव चार प्रतिशत विन्दुले बढने कोषको तथ्यांक छ । तेलको मूल्य प्रतिब्यारेल एक सय डलरमाथि गयो भने महंगी विश्वभर नै १ दशलमव दुई प्रतिशत विन्दुले बढ्छ भने अर्थतन्त्र शून्य दशमलब चार प्रतिशतले घट्छ । अब यो हामीमा पनि यही स्थिति लागू हुन्छ । अब नेपालमा पनि कुल गार्हस्थ उत्पादन–जीडीपी घट्ने र मूल्य बढ्ने जोखिम देखिएको छ ।
नेपालको महंगीमा आधा हिस्सा आयातित सामानको हुने हुनाले यहाँ महंगी सीमामा राख्न कठिन छ । त्यसकाकारण कर्मचारी तथा मजदुरलाई महंगी भत्ता दिएमात्रै जीवन कष्टकर बन्नबाट रोक्न सकिने बिज्ञ बताउँछन् ।
अहिले अन्तर्राष्ट्रिय ढुवानीलागत मात्रै बढेको छैन, त्यसको बिमाको समेत रकम बढेको छ । जसका कारण आयातित बस्तु र पेट्रोलियम पदार्थको मूल्य बढ्ने नै देखिन्छ ।