बुधबार, ०९ वैशाख २०८३
शुक्रबार, ०६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र ६ । १३ वर्षसम्म स्वास्थ्यकर्मीका रूपमा जनताको सेवा गर्नुभएकी रास्वपा चितवनकी उपसभापति प्रभा ढकाल अब संसदमा देखिनुहुनेछ। खस आर्य कोटाबाट निर्वाचित भएपछि उहाँले मतदाताहरूलाई विशेष धन्यवाद दिँदै जनमतलाई 'उत्तरदायित्व' को रूपमा बुझ्ने बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रभा ढकालले आफूलाई प्राप्त जनमतलाई अधिकारको रूपमा नभई जनताले सुम्पिएको 'गम्भीर उत्तरदायित्व' को रूपमा ग्रहण गर्ने बताउनुभएको छ। निर्वाचनमा विजयी भएपछि मतदाता र सहयोगीहरूलाई धन्यवाद दिँदै उहाँले यो जित परिवर्तन चाहने हरेक नागरिकको सामूहिक जित भएको उल्लेख गर्नुभयो।
राजनीतिमा सक्रिय हुनुअघि ढकाल नर्सिङ पेसामा आबद्ध हुनुहुन्थ्यो। विगत १३ वर्षसम्म स्वास्थ्यकर्मीका रूपमा जनताको सेवामा समर्पित रहनुभएकी ढकाल हाल रास्वपाको चितवन जिल्ला उपसभापति समेत हुनुहुन्छ। खस आर्य क्लस्टरबाट समानुपातिकको बन्दसूचीमा रहनुभएकी उनी आफ्नो लामो स्वास्थ्य सेवाको अनुभवलाई अब नीति निर्माणको तहमा उपयोग गर्ने योजनामा हुनुहुन्छ।
संसदको जिम्मेवारीसम्म पुर्याउन अमूल्य मत दिने मतदाताहरूप्रति कृतज्ञता प्रकट गर्दै सांसद ढकालले भन्नुभयो, "तपाईंहरूको भरोसालाई व्यवहारमा रूपान्तरण गर्नु नै अब मेरो प्रमुख दायित्व हुनेछ। अबको यात्रा जितको उत्सव मात्र होइन, जिम्मेवारीको सुरुवात हो।"
उहाँले निर्वाचन अभियानका दौरान निस्वार्थ रूपमा खटिने चुनावी कमाण्डरहरू, वडा तहका पदाधिकारी, स्वयंसेवक र सहयोगी हातहरूप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ। साथै, निर्वाचन प्रक्रियालाई निष्पक्ष र मर्यादित बनाउन भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय र स्थानीय प्रशासनप्रति पनि उहाँले आभार प्रकट गर्नुभयो।
सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श
२९ मिनेट अगाडि
बैंकमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
एक घण्टा अगाडि