logo-image

बुधबार, २८ असोज २०८३

उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी

शुक्रबार, १५ फागुन २०८२ · राजनीति

उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी

निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो । चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोवारमा निगरानी बढाएको हो । केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताउनु भयो । उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको उहाँले उल्लेख गर्नुभयो । 
आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गर्नुभयो । 
–न्युज एजेन्सी नेपाल