आइतबार, १७ जेठ २०८३
बुधबार, २० फागुन २०८२ · अर्थ
काठमाडौं, फागुन २० । अमेरिका र इजरायलको आक्रमणपछि इरानले हर्मुज जलमार्गमा रोक लगाएपछि विश्व तेल बजारमा कच्चा तेलको भाउ महंगो हुने देखिएको छ । बिगत ५ दिनको तुलनामा नै तेलको मूल्य प्रतिब्यारेल १० अमेरिकन डलरले बढेको छ ।
५ दिनअघि ६५ डलर प्र्रतिब्यारेलमा कारोबार भएको कच्चा तेल बुधबार ७५ रुपैयाँमा कारोबार भएको छ ।यसरी तेलको मूल्य बढेसँगै यसले विश्वभर ढुवानी तथा इन्धन लागत बढाइ महंगी बढाउने जोखिम देखिन्छ ।
अर्थविद् गुणाकर भट्टका अनुसार इरानले हर्मुज मार्गमा रोक लगाएपछि त्यसको असर बिश्व बजारमा परिसकेको छ । साथै अब युद्ध लम्बीए तेल थप महंगो हुने र यसले समग्र महंगी बढाउने भट्टको भनाई छ।
भट्टले भन्नुभयो ‘ पेट्रोलियम पदार्थको भाउ महंगो हुदा यसले समग्र बिकास निर्माणको लागत नै महंगो बनाउछ, साथै यातायात महंगो हुदा यसले नेपाली बजारमा समेत महंगी बढाउने जोखिम हुन्छ ।’
इरानमा आक्रमणका कारण विश्वबजारमा डलर र सुनको भाउमा समेत वृद्धि देखिइसकेको छ ।
सामान्य अवस्थामा डलर बढ्दा सुन घट्ने र सुन घट्दा डलर बढ्ने गरेको देखिन्थ्यो । विश्वका केन्द्रीय बैंकले डलरभन्दा सुनको माग बढाएकाले नै सन् २०२५ को सुरूआतमा २६ सय २४ डलर प्रतिऔस रहेको सुनको भाउ एक महिनाअघि ५ हजार ५ सय पुग्यो ।
तर, अमेरिका युरोपेली मुलुकको करमा लचिलो देखिएपछि ४ हजार ८ सय सम्म झरेको थियो । तर इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि भने अहिले फेरि विश्वबजारमा सुनको माग र भाउ दुबै बढाएको छ । तर सुनको माग बढ्दा पनि डलरको माग झनै बढेको छ । यी दुवैको मूल्य कति बढ्छ भन्ने कुरा यो युद्ध कति लम्बिने छ भन्नेमा भरपर्ने देखिन्छ।
इरानले अहिले तेल आपूर्ति गर्ने समुद्रीमार्ग हर्मुजमा रोक लगाएपछि विश्वबजारको तेल आपूर्ति नै असहज भएको छ । विशेषगरी चीन, भारत र अन्य दक्षिण एसियाली मुलुकमा तेल आपूर्ति प्रभाव पर्नेछ । साथै कतारस्थित सरकारी ग्यास उत्पादन केन्द्रमा इरानले आक्रमण गरेपछि उत्पादन प्रभावित भएको छ ।
जसका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सयदेखि १ सय २० डलरसम्म पुग्न सक्ने आकलन गरिएको छ । स्थिति अझै लम्बिए कच्चा तेलको मूल्य बढ्दै जाने र यसले विश्वबजारमा महंगी बढाउने विज्ञ बताउँछन् । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यो युद्ध ४ देखि ५ हप्तासम्म लम्बिने बताएका छन् । तर यो ट्रम्पको मात्रै दाबी हो । युद्ध कति लम्बीने छ भन्ने युद्ध थेग्ने इरानको सामथ्र्यमा समेत भर पर्छ ।