बुधबार, ३१ असार २०८३
मङ्गलबार, २६ फागुन २०८२ · अन्तर्राष्ट्रिय
काठमाडौं, फागुन २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने बताएका छन्।
इजरायलसँग मिलेर युद्ध सुरु गरेको १० दिनपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यो लडाइँ धेरै नलम्बिने दाबी गरेका हुन्। तर, ट्रम्पको यो भनाइको प्रतिवाद गर्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) ले युद्ध कहिले टुङ्गिन्छ भन्ने कुरा आफूहरूले तय गर्ने जवाफ फर्काएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार यदि अमेरिका र इजरायलको आक्रमण जारी रहेमा इरानले यस क्षेत्रबाट एक लिटर तेल पनि निर्यात हुन नदिने चेतावनी समेत दिएको छ।
इरानको यस्तो चेतावनीपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत कडा प्रतिउत्तर दिएका छन्। उनले यदि इरानले तेल निर्यातमा अवरोध सिर्जना गरेमा अहिलेको भन्दा २० गुणा बढी शक्तिशाली आक्रमण गर्ने धम्की दिएका हुन्।
यद्यपि, ट्रम्पको यो पछिल्लो घोषणालाई कतिपयले युद्धको वास्तविक अन्त्य भन्दा पनि युद्धका कारण अस्थिर बनेको अमेरिकी र विश्वभरको सेयर बजारलाई शान्त पार्ने दाउपेचका रूपमा व्याख्या गरेका छन्।
#DonaldTrump