logo-image

बुधबार, ३१ असार २०८३

रास्वपामा विधिको शासन हुन्छ : रवि लामिछाने

शनिबार, २३ फागुन २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देशमा विधिको शासन कायम हुने बताउनुभएको छ ।
शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी प्रशासनलाई पार्टीले चलाउने परम्पराको अन्त्य हुने उद्घोष गर्नुभयो । सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले जितेपछि कर्मचारी र प्रशासनलाई तर्साउने काम नहुने स्पष्ट पार्नुभयो । उहाँले कानून सबैका लागि बराबर हुने भन्दै रास्वपाका नेता कार्यकर्तालाई पनि आम नागरिक सरह नै नियम लागू हुने बताउनु भयो । आफूहरुले कसैसँग प्रतिशोध नलिने तर पुराना बेथितिको हिसाव भने पक्कै लिने उहाँको भनाइ छ । लामिछानेले आफ्ना शत्रु कुनै पनि राजनीतिक दल वा नेता नभएको प्रष्ट पार्नुभयो । 
सरकारको नेतृत्वमा पुगेको भोलिपल्टै बत्तीको स्विच थिचेजस्तो सबै कुरा जादुमय ढंगले नबदलिने भएपनि सुशासनको डण्डा भने पहिलो घण्टाबाटै चल्ने उहाँले चेतावनी दिनुभयो ।  शहीदहरुले सुशासनकै लागि प्राण आहुति दिएको स्मरण गर्दै उहाँले सुशासनको जगमा उभिएर समृद्धिको बाटोमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल