logo-image

शुक्रबार, ०१ साउन २०८३

बालेन शाहको आलोचना गर्दा एमाले नेता महरलाई किन आयो ज्यान मार्ने धम्की?

शुक्रबार, ०१ साउन २०८३ · समसामयिक

बालेन शाहको आलोचना गर्दा एमाले नेता महरलाई किन आयो ज्यान मार्ने धम्की?

 

काठमाडौं, साउन १ ।  नेकपा (एमाले) का नेता ऐन महरले आफूलाई सामाजिक सञ्जाल तथा फोनमार्फत निरन्तर ज्यान मार्ने धम्की आइरहेको खुलासा गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आलोचना गरेकै कारण उहाँका समर्थकहरूबाट आफूलाई गोली हान्ने र ज्यान लिने धम्की आइरहेको नेता महरले दाबी गर्नुभएको छ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै नेता महरले आफूमाथि भइरहेको निरन्तर प्रहार र धम्कीका केही प्रतिनिधिमूलक स्क्रिनसटहरू सार्वजनिक गर्नुभएको हो। नेता महरका अनुसार आफूमाथि आइरहेको धम्कीका बारेमा संसद (सदन) मा समेत जानकारी गराउँदा पनि सरकारले कुनै चासो देखाएको छैन।

"माफ गर्नुहोला, सरकारले कुनै चासो नदिएपछि सामाजिक सञ्जालमा निरन्तर सार्वजनिक गर्न बाध्य भएको छु, अधिनायकवादको दिशामा लम्किरहेको बालेन्द्र सरकारको आलोचना गर्दा फासिवादी बालेन्द्र सरकारद्वारा परिचालित नव मण्डलेहरूबाट गोली हान्ने, ज्यान लिने धम्कीको बाढी नै आइरहेको छ" - महरले फेसबुकमा लेख्नुभएको छ ।

धम्कीको शैली र प्रमाण सार्वजनिक
महरले सार्वजनिक गरेका स्क्रिनसटहरूमा "यदि कहिले सरकारको विरोध गरिस भने तलाई जहाँ भेट्यो त्यहीँ गोली हान्न बेर छैन..." तथा "तँ साला खातेलाई गोली होइन, सारा नेपालीहरूलाई अगाडि राखेर फाँसी दिँदा पनि कम हुन्छ" जस्ता गम्भीर र हिंसात्मक शब्दहरू प्रयोग गरिएका म्यासेजहरू देख्न सकिन्छ।

महरले फेसबुक, मेसेन्जरका साथै फोन र अन्य प्रत्यक्ष/अप्रत्यक्ष माध्यमबाट समेत निरन्तर धम्की र गालीगलौज आइरहेको उल्लेख गर्नुभएको छ। निरन्तरको धम्की र त्रासका बाबजुद आफू विचलित नहुने नेता महरले स्पष्ट पार्नुभएको छ। उहाँले यस्ता हर्कतले आफ्नो मनोबल झन् बढेको बताउनुभएको छ।

"हेक्का रहोस्, यस्ता कायरतापूर्ण धम्की र त्रासबाट मेरो आवाज दबाउन सक्दैनौ र मेरो विचार मार्न सक्दैनौ," महरले अगाडि लेख्नुभएको छ, "मेरो साहस अझ वृद्धि भएको छ र थप ऊर्जा र साहसका साथ देश, जनता र लोकतन्त्रको पक्षमा अडिग रहँदै आवाज सशक्त बनाउने छु।"

यस घटनाबारे प्रहरी वा सम्बन्धित सरकारी निकायबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आइसकेको छैन।

 

ताजा समाचार