logo-image

मङ्गलबार, १२ जेठ २०८३

आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरी र पश्चिममा गर्मी

मङ्गलबार, १२ जेठ २०८३ · समसामयिक

आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरी र पश्चिममा गर्मी

काठमाडौं, जेठ १२ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण देशका विभिन्न भू-भागमा वर्षा, हावाहुरी र अत्यधिक गर्मीको मिश्रित प्रभाव देखिएको छ।

दिउँसो र राती कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। यसको विपरीत, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागमा भने वर्षा नभई अत्यधिक गर्मी (तातो दिन) हुने स्थिति छ। रातीको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

मौसममा आउने यस्तो उतारचढाव, हावाहुरी र चट्याङ्गको जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ।