आइतबार, १४ असार २०८३
आइतबार, १४ असार २०८३ · समसामयिक
काठमाडौं, असार १४ । विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले निर्वाचनमा जाँदा जनताको बीचमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनेर भनेको रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी बाहेक अरु केही पनि नभएको बताउनु भयो । प्रमुख सचेतक दुलालले आफहरुले गणतन्त्र विरुद्ध हुन कुनै पनि गतिविधिको डटेर सामना गर्ने चेतावनीसमेत दिनुभयो ।
उहाँले भन्नुभयो,‘निर्वाचनको क्रममा सत्तारुढ दलद्वारा मधेसमा, सुदूरपश्चिम, कर्णाली जस्ता विकासमा पछाडि परेका प्रदेशहरुमा गएर हामी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछौ भनेर मत मागेर आउने र अनि मत पाएपछि अहिले तिनै संरचना खारेज गर्ने नीति पारित गर्नु जनताप्रतिको बेइमानी र धोका हो । जसरी सुकुम्बासी बस्तीमा मत माग्दा जाँदा उचित व्यवस्थापन नभई छाती थाप्ने बाघ हुँकार भएको थियो । र तर सरकार बनेपछि सुकुम्बासी बस्तीमा चलेको डोजरको जवाफमा स्याल हुँकार सुन्नु प¥यो । जनताप्रति धोका, ढाँट छल । हामी गणतन्त्र विरुद्धको कुनै पनि गतिविधिको डटेर सामना गर्नेछौँ ।’
प्रमुख सचेतक दुलालले निर्वाचन अघि उचित व्यवस्थापन नगरी सुकुम्बासी बस्ती नहटाउने भनिए पनि पछि आएर उनीहरुको बिचल्ली बनाउने काम पनि सत्तारुढ रास्वपाबाटै नभएको आरोप समेत लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल