सोमबार, ११ साउन २०८३
सोमबार, ११ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ११ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चासो र आक्रोश उत्पन्न गरेको छ।
भिडियो सार्वजनिक भएसँगै अशोक दर्जीले सम्बन्धित प्रहरी कार्यालयमा उजुरी दिएका छन् भने उनको अभिनय रहेको चलचित्र ‘पार्वती’ को निर्माण टिमले पनि विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
भाइरल भिडियोमा एक युवकले अशोक दर्जीलाई पैसा नतिरेको आरोप लगाउँदै अपमानजनक शब्द प्रयोग गरेको र क्यामराकै अगाडि पटक–पटक थप्पड हानेको देखिन्छ। भिडियोमा अशोक त्रसित अवस्थामा देखिएका छन् भने वरपर रहेका केही व्यक्तिले रोक्ने प्रयास गरे पनि हातपात रोकिएको देखिँदैन।
घटनापछि अशोक दर्जीले इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराउँदै अंकित प्रधान र शनिश्चरेका ‘शुक्रे’ भनिने व्यक्तिले आफूलाई ‘चोर–चोर’ भन्दै कुटपिट गरेको, भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको तथा हटाइदिन आग्रह गर्दा समेत धम्की दिएको उल्लेख गरेका छन्।
उजुरीअनुसार घटना उनी मामाघर गएका बेला भएको हो। बिर्तामोडस्थित महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको र त्यसको केही दिनपछि देवीबस्ती गेट नजिक स्कुटरमा पेट्रोल हालिरहेका बेला आफूमाथि कुटपिट भएको अशोकको दाबी छ।
यसैबीच, चलचित्र ‘पार्वती’ को टिमले जारी गरेको विज्ञप्तिमा अशोकमाथि भएको व्यवहारप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, "कानुनी प्रक्रिया र मानवीय मर्यादाभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमान गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ।"
निर्माण टिमले भाइरल भएको भिडियो हालसालैको नभई पुरानो घटना भएको दाबी गर्दै अशोकको पछिल्लो सफलता र प्रगतिलाई लक्षित गरी नियोजित रूपमा भिडियो सार्वजनिक गरिएको हुन सक्ने आशंका पनि व्यक्त गरेको छ।
टिमले घटनालाई एकपक्षीय रूपमा नहेरी सत्यतथ्यका आधारमा मूल्यांकन गर्न सबै पक्षसँग आग्रह गर्दै अशोक दर्जीलाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ। प्रहरीले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।