शुक्रबार, १९ असार २०८३
शुक्रबार, १९ असार २०८३ · समसामयिक
दैलेख, असार १९ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा दुर्घटना भई कर्णाली नदीमा खसेपछि बेपत्ता यात्रु र गाडीको खोजी कार्य दोस्रो दिन पनि तीव्र पारिएको छ। क प्र ०२–००१ ख १०५५ नम्बरको उक्त गाडी बिहीबार बिहान ११:३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित सडकबाट करिब ४०० मिटर तल नदीमा खसेको थियो।
बिहीबार ५ घण्टासम्म खोजी गर्दा पनि फेला नपरेपछि आज (शुक्रबार) बिहान ८ बजेदेखि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका ६ जना गोताखोरसहितको टोली पुनः परिचालन गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव निकै तीव्र र पानी धमिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। दुर्घटनास्थलमा सिधै ओर्लिने ठाउँ नभएका कारण टोलीले अछाम जिल्लातर्फको किनारबाट खोजी कार्य अघि बढाएको छ।
यसैबीच, दुर्घटनास्थल नजिकैको भिरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उद्धार गरी अस्पताल पुर्याउने क्रममा मृत्यु भएको छ। मृतकको पहिचान र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार सुर्खेत बसपार्कबाट गुडेको उक्त गाडीमा सुरुमा ३ जना, दैलेखको डुङ्गेश्वरबाट थप २ जना यात्रु र चालक तथा सहचालकसहित आधिकारिक रूपमा ७ जना सवार थिए।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवण विकको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धार तथा खोजीमा खटिएको छ। दुर्घटना भएको उक्त स्थान दैलेख प्रहरी चौकीबाट ३ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय (जिप्रका) दैलेखबाट ५० किलोमिटर पश्चिममा पर्दछ।