logo-image

बिहिबार, १९ कात्तिक २०८३

नयाँठिमीमा अज्ञात पुरुष मृत फेला, पहिचान खुलाउन प्रहरीको आग्रह

बुधबार, १८ कात्तिक २०८३ · समसामयिक

नयाँठिमीमा अज्ञात पुरुष मृत फेला, पहिचान खुलाउन प्रहरीको आग्रह

 


भक्तपुर, कात्तिक १८। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४, नयाँठिमीस्थित आकाशेपुल नजिकै मृत फेला परेका एक पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी परिसर भक्तपुरले मृतकको पहिचान तथा आफन्तको खोजीका लागि सर्वसाधारणसँग सहयोग मागेको छ।

प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते बिहान करिब ५ बजे भक्तपुरबाट काठमाडौं जाने सडकको छेउमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३० देखि ३५ वर्षका पुरुष लडिरहेको अवस्थामा फेला परेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा बिहान ६ बजेर ८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतक अन्दाजी ३० देखि ३५ वर्ष उमेरका, मंगोलियन अनुहारजस्तो देखिने पुरुष हुन्। उनले खैरो ट्राउजर, खैरो हुडी र बाहिर जिन्सको ज्याकेट लगाएका थिए। उनको साथमा चप्पलसमेत रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मृतकको साथबाट एक थान कैँची, एक थान ह्याक्सो ब्लेड र दुईवटा लाइटर फेला परेका छन्। उनको दाहिने हातको पञ्जा र दाहिने खुट्टाको तिघ्रामा पोलेको जस्तो देखिने चिन्ह रहेको प्रहरीको विवरणमा उल्लेख छ।

मृतकको पहिचान तथा सनाखत हुन नसकेको र हालसम्म आफन्तसमेत सम्पर्कमा नआएकाले प्रहरीले उनको हुलियासँग मिल्ने व्यक्तिलाई चिन्नुहुने वा आफन्तबारे जानकारी भएका महानुभावलाई जिल्ला प्रहरी परिसर भक्तपुरकाे  ९८५१२८३०२०/९८५१२९०९७६ मा सम्पर्क गर्न अनुरोध गरेको छ। मृतकको पहिचान खुलाउन सहयोग गरिदिन जिल्ला प्रहरी परिसर भक्तपुरले सर्वसाधारणसँग आग्रह गरेको छ।