logo-image

आइतबार, १४ भदौ २०८३

रोल्पामा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

बिहिबार, २८ साउन २०८३ · समसामयिक

रोल्पामा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं, साउन २८ । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा बुधबार राति पहिरो खस्दा घर तथा गोठ पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय उवाका अनुसार राति करिब ८ः४० बजे स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठमाथि पहिरो खसेको थियो। घटनामा १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको छ।

यस्तै, २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। पहिरोमा पुरिएकाहरूको उद्धारमा कठिनाइ भए पनि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा थप खोजी तथा उद्धार कार्य जारी राखेको छ।

पहिरोमा अन्य मानिसहरू पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।