मङ्गलबार, ०६ असोज २०८३
मङ्गलबार, ०६ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ६ । सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति नै निधन भएको छ।
सोमबार मध्याह्न त्रिपुरेश्वर चोकको बस स्टपमा रिद्धि सिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। ९० प्रतिशतभन्दा बढी शरीर जलेको अवस्थामा उनलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आगलागी हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको स्पष्ट देखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालक आफैले बसमा आगो लगाएका थिए।
सुरुमा प्रहरीले उनको नाम दाबा लामा बताए पनि अनुसन्धानका क्रममा उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बैंक खाता तथा नागरिकता प्रयोग गर्दै आएको खुलेको छ। यसअघि करिब तीन महिनाअघि मलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गर्दा पनि उनले यही नाम प्रयोग गरेका थिए। उनको वास्तविक पहिचान तथा घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाएका छन्।