शुक्रबार, २६ असार २०८३
शुक्रबार, २६ असार २०८३ · समसामयिक
काठमाडौँ, २६ असार । काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा प्रहरीले काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घटनाको अनुसन्धान र सोधपुछका लागि तीन नगर प्रहरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दुई जना महिला र एक जना पुरुष नगर प्रहरी रहेका छन्। उनीहरूलाई अहिले प्रहरी वृत्त कालीमाटीमा राखेर घटनाको वास्तविकता बुझ्न थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए। पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आज (शुक्रबार) निधन भएको हो। फुटपाथ व्यवसाय सञ्चालनका क्रममा नगर प्रहरीसँग भएको असमझदारी वा तनावका कारण उनले यो कठोर कदम चालेको हुन सक्ने आशंकामा प्रहरीले छानबिन तीव्र पारेको छ।