logo-image

शुक्रबार, १९ असार २०८३

भक्तपुरको झौखेलस्थित दीपज्योति सहकारीमा चोरी, सचेत रहन प्रहरीको आग्रह

शुक्रबार, १९ असार २०८३ · समसामयिक

भक्तपुरको झौखेलस्थित दीपज्योति सहकारीमा चोरी, सचेत रहन प्रहरीको आग्रह

 

भक्तपुर, असार १९ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित दीपज्योति सहकारी संस्थामा गएराति चोरी भएको छ । राति करिब पौने ३ बजेको समयमा आएका दुई जनाको समूहले सहकारीको भवन तोडफोड गरी नगद लुटेका हुन् ।

चोरहरूले सुरुमा पहिचान लुकाउन भवनमा जडान गरिएको सीसीटीभी क्यामेरा छोपेका थिए । सहकारीका एक सदस्यका अनुसार सीसीटीभी फुटेजमा चोरहरूको हातमा फलामको लामो डन्डीसमेत देखिएको छ । चोरी गर्ने क्रममा कसैले प्रतिकार गरेमा आक्रमण गर्ने उद्देश्यसहित उनीहरूले उक्त घातक वस्तु बोकेको हुन सक्ने अनुमान गरिएको छ । उनीहरूले मुख्य ढोका, डेरी र सहकारीको कार्यालयसहित तीनवटा ढोका फोडेर भौतिक क्षति पुर्‍याएका छन् ।

सहकारीको मुख्य रकम सुरक्षित लकरमा राखिएकाले ठुलो परिमाणको धनमाल चोरी हुनबाट जोगिएको छ । तर, सोही भवनको तल्लो तलामा सहकारीद्वारा नै सञ्चालित डेरीको घर्रामा रहेको ११ हजार रुपैयाँ भने चोरहरूले लगेका छन् ।

यसअघि चाँगुनारायण–२ दुवाकोटमा पनि विवाहका लागि किनेर राखिएको सुनचाँदी चोरी भएको थियो । उक्त घटनामा संलग्न अभियुक्तलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

हरेक वर्ष वर्षायामको समयमा चोरीका घटनाहरू बढ्ने गरेका छन् । अहिले भक्तपुरमा चोरको बिगबिगी बढेकाले आफ्नो घर, पसल तथा सहकारी भवनहरूको सुरक्षामा विशेष ध्यान दिन तथा सावधान रहन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।