आइतबार, २७ वैशाख २०८३
बुधबार, २३ वैशाख २०८३ · मनोरञ्जन
काठमाडौं, वैशाख २३ । शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा ठुलो अन्योल छाएको थियो ।
यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’ को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ । २ घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ । प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए। यो चलचित्र यही वैशाख २५ गते शुक्रवार रिलिज हुँदैछ ।
सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो । यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो । जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू भने पदेन सदस्य रहने व्यवस्था भएको हुनाले उनीहरूको उपस्थिति भने कायमै थियो र सोही अनुरूप चलचित्रको सेन्सर कार्य अघि बढाइएको हो ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ । चलचित्रको ट्रेलर तथा टिजरका साथै ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र आकर्षक डान्सिङ नम्बर ‘झ्याम पारम’ जस्ता गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन् जसले दर्शकको राम्रो ध्यान तानेको छ ।
यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन्। प्राविधिक रूपमा पनि निकै उत्कृष्ट मानिएको यस चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले यही शुक्रवारबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ ।

नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल
एक घण्टा अगाडि
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
२ घण्टा अगाडि
११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च
५ घण्टा अगाडि