आइतबार, २७ वैशाख २०८३
बिहिबार, २४ वैशाख २०८३ · मनोरञ्जन
काठमाडौं, वैशाख २४ । जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोजः आँखा’ ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वल्र्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ’रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ । हालै आयोजक कमिटीले इमेलमार्फत चलचित्रले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो। यस चलचित्रले ’विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ’प्लेटिनम रेमी अवार्ड’ र ’निर्देशन–क्राफ्ट’ विधामा ’गोल्ड अवार्ड’ जितेको छ ।
विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना भएको हो । सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकहरूले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए । यस्तो विश्वप्रसिद्ध मञ्चमा नेपाली चलचित्र र यसका निर्देशकले ’प्लेटिनम’ र ’गोल्ड’ जस्ता सर्वोच्च अवार्ड जित्नुले नेपाली चलचित्रलाई सम्मानित विश्वव्यापी प्लेटफर्ममा अब्बल साबित गरेको छ ।
यसअघि यस चलचित्रले ६२ औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेर इतिहास रचिसकेको छ । उक्त महोत्सवको सर्वोच्च सम्मान प्राप्त गर्ने यो नै पहिलो नेपाली चलचित्र हो । एसियामा ऐतिहासिक जित र अमेरिकामा प्रतिष्ठित दुई रेमी अवार्डको प्राप्तिसँगै, ‘आँखा’ ले नेपालको उदाउँदो चलचित्र उद्योगतर्फ विश्वको ध्यान निकै गम्भीर रूपमा आकर्षित गर्न सफल भएको छ ।
निर्देशक योञ्जनले प्राप्त गरिरहेको यस अन्तर्राष्ट्रिय मान्यताले ‘नेपाली कथाहरूले विश्वव्यापी दर्शकहरूको मन छुन सक्छन्’ भन्ने कुरा स्पष्ट रूपमा प्रमाणित गरेको छ । चलचित्र समीक्षकहरूका अनुसार, यो सफलताले नेपाली चलचित्र निर्माणको प्राविधिक तथा कथा वाचनको बढ्दो शक्ति र राष्ट्रिय सिमानाभन्दा बाहिरका दर्शकहरूसम्म पुग्न सक्ने क्षमतालाई उजागर गरेको छ ।
सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, सङ्घर्ष र यथार्थलाई अत्यन्तै गहिरो र मार्मिक रूपमा चित्रण गरेको यस चलचित्रमा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ । यो जितसँगै ’क्रलिङ क्रोजः आँखा’ ले नेपाली चलचित्र क्षेत्रको शिर अन्तर्राष्ट्रिय स्तरमा थप उच्च बनाएको छ ।
नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल
२ घण्टा अगाडि
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
२ घण्टा अगाडि
११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च
५ घण्टा अगाडि