logo-image

सोमबार, १८ साउन २०८३

सिन्धुलीमा बसको ठक्करपछि सडक विभागको कार नदीमा खस्यो, चार जना बेपत्ता

सोमबार, १८ साउन २०८३ · समसामयिक

सिन्धुलीमा बसको ठक्करपछि सडक विभागको कार नदीमा खस्यो, चार जना बेपत्ता

 

काठमाडौं, साउन १८ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बिहान बसले ठक्कर दिँदा सडक विभागको कार सुनकोशी नदीमा खसेर दुर्घटना भएको छ। दुर्घटनामा कार चालकसहित चार जना नदीमा बेपत्ता भएका छन्।

सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो। उक्त ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ निवासी करिब २७-२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका अन्य दुई जना गरी कुल चार जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको पुष्टि भएको छ। यसअघि प्राप्त प्रारम्भिक जानकारीमा कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनाका कन्ट्र्याक्टर तिलकुमार लामासँग सम्बन्धित रहेको बताइए पनि पछिल्लो विवरण अनुसार यो गाडी सडक विभागको यान्त्रिक कार्यालय मुलकोटको रहेको खुलेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन भई नदीमा बेपत्ता भएका कार र यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ। सुनकोशी नदीमा पानीको बहाव उच्च रहेकाले उद्धार कार्यमा केही चुनौती थपिएको छ।

दुर्घटना गराएपछि फरार वा संलग्न रहेका बसका चालक, फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस र चालकलाई खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।