logo-image

शुक्रबार, ०८ जेठ २०८३

पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी, पत्रकार थापालाई कारबाहीको माग

शुक्रबार, ०८ जेठ २०८३ · समसामयिक

पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी, पत्रकार थापालाई कारबाहीको माग

 

काठमाडौं, जेठ ८ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले केही सञ्चारमाध्यममा आफूविरुद्ध प्रकाशित समाचार भ्रमपूर्ण र चरित्रहत्या गर्ने प्रकृतिको रहेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्।

केही दिनअघि ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचार पूर्णतः तथ्यहीन र भ्रामक रहेको सांसद गुरुङको दाबी छ। उक्त समाचारले आफ्नो व्यक्तिगत तथा राजनीतिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

आफू पारिवारिक भ्रमणमा गएको घटनालाई गलत र बदनियतपूर्ण तरिकाले प्रस्तुत गरी ‘पीत पत्रकारिता’ गरिएको आरोप गुरुङले लगाएका छन्। उनले समाचार प्रकाशित गर्ने संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम आवश्यक छानबिन गरी कडा कानुनी कारबाही र सजाय गर्न माग गरेका छन्।