logo-image

बिहिबार, ११ भदौ २०८३

विपत्तिको घडीमा प्रधानमन्त्री बालेनको आह्वान: सेना परिचालन, १५ भन्दा बढी उडान र टिमुरेबाट ११६ जनाको रेस्क्यु

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

विपत्तिको घडीमा प्रधानमन्त्री बालेनको आह्वान: सेना परिचालन, १५ भन्दा बढी उडान र टिमुरेबाट ११६ जनाको रेस्क्यु

 

काठमाडौं, भदौ ११ । देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको घडीमा सरकार उद्धार तथा राहत कार्यमा द्रुत गतिमा जुटिरहेको प्रधानमन्त्री बालेन शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सिङ्गो देश, विश्वभरका नेपाली नागरिकहरू तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा यस विपत्तिको सामना भइरहेको बताएका हुन्।

हवाई उद्धार र रसुवामा सेनाको ‘रेस्क्यु अपरेशन’प्रधानमन्त्रीका अनुसार आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि हेलिकोप्टर उडानहरू सुरु गरिएको छ। हालसम्म १५ भन्दा बढी उडानहरू सम्पन्न भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्।यसै क्रममा, नेपाली सेनाले आज बिहान सञ्चालन गरेको विशेष रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनाको सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकाहरूमा ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। साथै टनेल (सुरुङ) भित्र फसेका ७ जना नेपाली नागरिकलाई पनि सफलतापूर्वक बाहिर निकालिएको प्रधानमन्त्रीले जनाएका छन्।राहत सामग्री, सञ्चार र अस्थायी शिविरको व्यवस्थाप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीहरू द्रुत रूपमा पुर्‍याइँदैछ। उद्धार टोलीले प्रभावित स्थलहरूमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुङ्गा काट्ने मेसिनहरू पुर्‍याइरहेको छ।  सम्पर्क विच्छेद भएका क्षेत्रहरूमा छिट्टै अस्थायी मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको व्यवस्था गर्न लागिएको छ। उता नुवाकोटमा खाना र पानीको उचित प्रबन्धसहितको अस्थायी शिविर तयार पारिएको छ।

यस्तै, चुस्तदुरुस्त उद्धारका लागि ड्रोन सर्भेमार्फत तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।  उद्धारमा कसलाई प्राथमिकता?हवाई उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला र बालबालिकाहरूलाई पहिलो प्राथमिकता दिइने प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्।सबै नागरिकलाई धैर्य र संयम कायम राखी उद्धारको प्रतीक्षा गर्न अपिल गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, "आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस कठिन घडीमा हातेमालो गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।"