logo-image

बिहिबार, २८ साउन २०८३

प्रेस काउन्सिल नेपालद्वारा किशोर श्रेष्ठको निवास खानतलासी र सञ्चार माध्यममाथि भएको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण

बिहिबार, २८ साउन २०८३ · समसामयिक

प्रेस काउन्सिल नेपालद्वारा किशोर श्रेष्ठको निवास खानतलासी र सञ्चार माध्यममाथि भएको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण

 

काठमाडौं, साउन २८ ।  प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी निवास तथा कार्यालयमा खानतलासी र सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारिताको मर्यादा र आचारसंहिताको पालना हुनुपर्नेमा जोड दिएको छ। कुनै समाचार वा प्रकाशनप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया अपनाई प्रेस काउन्सिल नेपालमा उजुरी दिन सरोकारवाला पक्षलाई आग्रह गरिएको छ।

साथै, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन र सत्य, तथ्य तथा जिम्मेवार पत्रकारिताको अभ्यासलाई प्रवर्द्धन गर्न काउन्सिल प्रतिबद्ध रहेको जनाएको छ। 

  यस्ताे छ प्रेस काउन्सिलकाे विज्ञप्ति : 

प्रेस विज्ञप्ति
कुनै सञ्चार माध्यम तथा पत्रकारले आफ्नो व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, उद्देश्य, काम कर्तव्य र अधिकार तथा पत्रकार आचारसंहिताको परिधिभित्र रही काउन्सिल क्रियाशील हुँदैआएको छ । स्वस्थ पत्रकारिताको विकासका लागि उपर्युक्त वातावरण सिर्जना गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने, पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने र प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने काउन्सिलको अहम् उद्देश्य र जिम्मेवारी हो ।
यसअनुरुप काउन्सिलले पत्रकार आचारसंहिता बनाई पत्रकार र सञ्चारमाध्यमविरुद्ध परेका उजुरी लिने–केलाउने, नियमानुसार कारबाही गर्ने, कतिपय अवस्थामा दुईपक्ष (उजुरीकर्ता र सञ्चारमाध्यम/पत्रकार)लाई बोलाई संवाद गरी मेलमिलाप गराउने, स्वअनुगमन गर्ने कार्य गर्दैआएको छ । विद्यमान व्यवस्थाअनुसार आचारसंहिता पालना र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न लगाउने, खण्डन प्रकाशन/प्रसारण, भुलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउने, पत्रपत्रिका मूल्याङ्कन, वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायत अन्य सुविधाबाट वञ्चित गर्ने वा सूचीकरणबाट हटाउने, प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने, सरकारी वा कुनै पनि प्रकारका विज्ञापन वा सुविधाहरू निश्चित अवधिका लागि उपलब्ध नगराउन सम्बन्धित निकायलाई सिफारिस गर्ने, कुनै पनि सरकारी भ्रमणमा राज्यका तर्फबाट सहभागी नगराउन सम्बन्धित निकायलाई सिफारिस गर्ने, गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार र सञ्चारमाध्यममाथि थप कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ र सम्बन्धित सञ्चार संस्थामा सिफारिस गर्ने, काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चार माध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारी, कालोसूचीमा राख्ने र पटक–पटक गरिएको कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने प्रक्रिया रहेको छ । काउन्सिलले कतिपय अवस्थामा पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने गरेको छ भने कतिपय सञ्चारमाध्यमलाई आचारसंहितावापत नकारात्मक अङ्क प्रदान गरिएको छ ।
यसै सन्दर्भमा आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राती पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य हो । प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्दछ । काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार÷सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ । प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार÷सञ्चारकर्मी सचेत हुनैपर्दछ । सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्दछ । अतः काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ ।
दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत
प्रेस काउन्सिल नेपाल(प्रवक्ता)