logo-image

आइतबार, ०७ असार २०८३

बाजुरामा पवनदूत यातायातको बस दुर्घटना, २४ यात्रु घाइते

आइतबार, ०७ असार २०८३ · समसामयिक

बाजुरामा पवनदूत यातायातको बस दुर्घटना, २४ यात्रु घाइते

 

बाजुरा, असार ७ — बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार सुपप्र ०२–००१ ख १३५५ नम्बरको बसमा ३५ जना यात्रु सवार थिए। गन्तव्यतर्फ जाँदै गरेको बस अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक ब्रेकले काम नगरेपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ भने एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। बस दुर्घटनाको विस्तृत कारण र क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा साँघुरा तथा जोखिमयुक्त सडक, सवारी साधनको प्राविधिक अवस्था र नियमित मर्मतसम्भारको अभावका कारण यस्ता दुर्घटना दोहोरिने गरेको सरोकारवालाहरू बताउँछन्। पछिल्लो दुर्घटनाले सार्वजनिक सवारी साधनको प्राविधिक परीक्षण र सडक सुरक्षाप्रति थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।