बुधबार, ३१ असार २०८३
सोमबार, ०७ वैशाख २०८३ · मनोरञ्जन
ललितपुर, वैशाख ७ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ स्थित चाँगाथली योग साधना केन्द्र (चाँदनी व्यान्क्वेट) मा पतञ्जली योग समिति नेपालको आयोजनामा योग ध्यान साधना तथा उत्प्रेरणात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पतञ्जली योग समिति नेपालका केन्द्रीय सह-प्रभारी आदरणीय ललित शंकर योग गुरुज्युबाट सञ्चालित उक्त कार्यक्रममा विशेष योग अभ्यास, ध्यान र जीवनोपयोगी मोटिभेसन प्रदान गरिएको थियो। ललितपुर क्षेत्र नं. १ का निर्वाचित सांसद बुद्ध रत्न महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ५ र ७ का वडा अध्यक्षहरू, महिला पतञ्जली योग समिति ललितपुरका पदाधिकारीहरू, तीनवटै नगरका प्रतिनिधिहरू र विभिन्न साधना केन्द्रका साधक-साधिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ललितपुरका चर्चित योग साधक प्रकाश खड्काद्वारा स्वरबद्ध दुईवटा नयाँ योग गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो। जिल्ला उपाध्यक्ष विश्व देव श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला महिला अध्यक्ष अनामिका श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिको शुभकामना मन्तव्यपश्चात् साधना केन्द्रका अध्यक्ष नरेश बस्नेतले सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो।