logo-image

सोमबार, ११ जेठ २०८३

जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न

सोमबार, ११ जेठ २०८३ · समसामयिक

जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न

काठमाडौं, जेठ ११ । जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो । 

जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण समेत गर्नुभयो । 

अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित “शिव शम्भू” (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गर्नुभयो । 

सो अवसरमा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिनुभयो । सो क्रममा उहाँले सत्य, सेवा, सुरक्षणम्‌को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उहाँको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताउनुभयो । यस कार्यक्रम मार्फत प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहि मार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

   प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताउनुभयो । नेपाल प्रहरीको आदर्श वाक्य सत्य, सेवा, सुरक्षणम्‌को दिव्य एवम् मूल मार्गलाई आत्मसात् गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने उहाँले बताउनुभयो । साथै प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट विमोचित भजनले उहाँको आशीर्वादसँगै अझ दिव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवम् भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

ताजा समाचार