बुधबार, १३ जेठ २०८३
बुधबार, १३ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १३ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा भएका विभिन्न प्रयासहरू अन्तर्गत गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् ।
सो अवधिमा देशभरबाट ४ हजार ६ सय ६६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ । उक्त अवधिमा गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४ सय ४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल, फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेट समेत बरामद भएको छ ।
सो अवधिमा ११ हजार १ सय ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६ सय २५ रूपैयाँ बराबरको जरिवाना असुल उपर गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३ सय १० रूपैयाँ बिगो रकम दाबी सहित १ सय ३ जना प्रतिवादी विरूद्ध कानुनी कारबाही गरिएको छ । करिब १ अर्ब रूपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजश्व चुहावटका गतिविधिमा संलग्न ७ सय ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।
यसैगरी अवैध हातहतियार तथा विष्फोटक पदार्थ सहित १ सय २७ जनालाई पक्राउ गरिएको छ । जसबाट ६ सय १५ थान हतियार सहित ठूलो परिमाणमा गोली, बारूद, डेटोनेटर, PEK लगायतका विष्फोटक पदार्थहरू बरामद भएका छन् । साइबर अपराधका ५८ मुद्दा दर्ता गरी विद्युतीय माध्यमबाट ठगी भएको ८ करोड ८५ लाख ३१ हजार ६ सय ७० रूपैयाँ पीडितलाई फिर्ता दिलाइएको छ । मानव बेचविखन तथा ओसारपसार अपराधमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । सो अवधिमा देशभर ज्यान सम्बन्धी कसुरका ४ हजार २ सय ३७, आत्महत्या सम्बन्धी ३ हजार ४ सय १४, चोरी सम्बन्धी २ हजार ५९, संगठित तथा आर्थिक अपराध सम्बन्धी ४ हजार ५ सय ४०, सामजिक अपराध सम्बन्धी ५ हजार ४ सय ६५, महिला तथा बालबालिका सम्बन्धी १ हजार ९ सय ३५, सवारी सम्बन्धी १ हजार ४ सय ८० र विविध ७ हजार १ सय ४६ गरी कुल ३० हजार २ सय ७६ मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको छ ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी ८२ हजार २ सय १७ वटा जनचेतनामूलक कार्यक्रम संचालन भएको छ । जसबाट ४५ लाख ५६ हजार ८ सय ९२ जना लाभान्वित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार १ सय ३९ सवारी साधनलाई कारबाही गरी ४९ करोड ९१ हजार ४ सय ६३ रूपैयाँ राजश्व संकलन गरिएको छ । नेपालभरका राजमार्ग तथा सिमानाकामा गरी १९ वटा स्थानमा Traffic Communication App (TCA) संचालनमा रहेको, देशभरका ७७ वटै जिल्लाका २ सय २८ वटा युनिटमा Traffic Violation Record System (TVRS) संचालन भइरहेको साथै नागरिकको सुविधालाई मध्येनजर गरी देशव्यापी रूपमा Echallan (Digital Chit) लागु गरिएको छ ।
सो अवधिमा देशभर विभिन्न स्थानमा भएका ४ हजार २ सय ६ विपद्का घटनाहरूमा २३ हजार ४ सय ८४ जना प्रहरी परिचालित भई २ सय १३ जना नागरिकहरूको उद्धार समेत गरिएको छ । देशभर विभिन्न स्थानमा भएका बन्द, हडताल लगायतका बिरोध कार्यक्रमको सुरक्षार्थ ५९ हजार ६२ जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको छ । साथै नेपाल प्रहरीद्वारा काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानका सुकुम्बासी एवम् भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको छ ।