बुधबार, १७ असार २०८३
बुधबार, १७ असार २०८३ · समसामयिक
काठमाडौं, असार १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन् ।
चितवन महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले शपथ गराउनुका साथै प्रमाणपत्र र उपहारस्वरूप पार्टीको चुनाव चिह्न ‘घण्टी’ हस्तान्तरण गरे । निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीले पनि सोही अवसरमा शपथ लिएका छन्।
(रास्वपा) को विधान अनुसार कुल १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा महाधिवेशनबाट १०० जना निर्वाचित र बाँकी ५१ जना सभापतिद्वारा मनोनीत हुने प्रावधान रहेको छ । यस अन्तर्गत भर्खरै सम्पन्न महाधिवेशनबाट खुलातर्फ ३२ र समावेशी समूहतर्फ ३२ जना निर्वाचित भएका छन् भने सातवटै प्रदेशबाट ५–५ जना गरी केन्द्रीय सदस्यहरू चुनिएका हुन् । यसबाहेक सातै प्रदेशका पार्टी सभापतिहरू केन्द्रीय समितिमा स्वतः पदेन सदस्य रहने व्यवस्था विधानमा गरिएको छ ।
पार्टीको विधानमा कुल १९ जना पदाधिकारी रहने व्यवस्था भए तापनि हाल ६ जनाले मात्र शपथ लिएका छन् । बाँकी रहेका १३ वटा पदहरूमा भने आगामी दिनमा मनोनयन गरिनेछ । जसमा वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष जस्ता महत्त्वपूर्ण पदहरू रिक्त रहेका छन् र यी पदहरूमा सभापतिद्वारा मनोनयन हुन बाँकी नै रहेको छ।