logo-image

बिहिबार, ११ भदौ २०८३

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत प्याकेज, ७ वटा टावरमा क्षति

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत प्याकेज, ७ वटा टावरमा क्षति



काठमाडौं, भदौ ११ । बाढी तथा पहिरोका कारण सञ्चार सेवामा समेत प्रभाव परेका रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा नेपाल टेलिकमले सेवाग्राहीको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष सेवा तथा राहत प्याकेज घोषणा गरेको छ ।

टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत सचेत गराइरहेको जनाएको छ । साथै, विपद्को समयमा आवश्यक सूचना तथा सञ्चारमा सहजता होस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रका सेवाग्राहीका लागि दुई दिनसम्म भ्वाइस कल निःशुल्क, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने भएको छ । टेलिकमले सेवाग्राहीलाई विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन प्रेरित गर्ने सचेतनामूलक रिङब्याक टोन समेत बजाइरहेको जनाएको छ ।

बाढीका कारण नेपाल टेलिकमको पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा मोबाइल टावरमा क्षति पुगेको छ। यसबाट प्रभावित क्षेत्रमा मोबाइल तथा अन्य दूरसञ्चार सेवामा अवरोध सिर्जना भएको छ । त्यस्तै, गल्छीदेखि रसुवा बोर्डरसम्म रहेको फाइबर लिंकमा समेत क्षति पुगेको नेपाल टेलिकमले जनाएको छ । 

फाइबर लिंकमा आएको क्षतिका कारण सेवा सञ्चालनमा थप चुनौती देखिएको छ । क्षतिग्रस्त संरचना तथा फाइबर लिंकको मर्मतसम्भारका लागि नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर परिचालन भइरहेको छ । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद सेवा यथाशीघ्र नियमित गराउन टोलीले काम गरिरहेको टेलिकमले जनाएको छ ।